# रमण र अनामिका

बिहान करिब ५ बजे ढोकाको ढकढकाइले मेरो निद्रा खुल्यो “को हो ?” मेरो प्रश्नको उत्तर आएन। को यति बिहान मेरो कोठामा आइपुगेछ भन्दै ढोका खोल्न पुगे  ढोका अगाडी ४ प्रहरी देखेर झस्किए । “ तपाइँ हामीसंग  प्रहरी कार्यालय जानु पर्छ, हिड्नु” ४ मध्येका अघिल्तिरको प्रहरीको भनाइ सुनेपछि मैले के भएछ भनि सोधे! अहिले यहाँ भन्न मिल्दैन, छिटो तयार हुनुहोस, कार्यलयमा सबै कुराको जानकारी दिन्छौ। यो सुनेपछि म झन् आत्तिए। प्रहरीको भनाइ मान्दै मैले टिशर्ट लगाएर उहाँहरुसंगै प्रहरीको गाडीमा बसेर प्रहरी कार्यालय पुगें। मलाई इन्स्पेक्टरको कार्यालयमा लगियो। उहाँले एउटा फायल बाट सानो फोटो मेरो अघि सारेर, यो मान्छे चिन्नुहुन्छ भन्नुभयो।  ‘अनामिका’

“हेलो, यो सिट खाली हो?”

“हजुर”

करिब २ बर्ष अगाडी एक म्यानपावर कम्पनिमा बाहिर सिटमा बसिरहेका बेला उ संग भेट भएको थियो.

म पोखराको लेकसाइडमा रहेको होटेलमा काम गर्थे, जसोतसो जीविकोपार्जन भैरहेको थियो तर पनि केहि अझ जीवनस्तर वृद्धि होस् भनि बैदेशिक रोजगारीको खोजीमा थिए म,  म्यानपावर पुग्दा केहि भिड थियो अफिस भित्र, बाहिर रहेको बेन्चमा बसे, पहेलो टिसर्ट अनि निलो जिन्स लगाएको उनि अरुभन्दा फरक देखिएकी थिइन्, दिउसो को समय अनि भिड भएकोले निक्कै गर्मि महसुस भएको थियो।

“उफ! कति धेरै गर्मि भएको” मैले कुरा अगाडी बढाए।

“तेही त, पोखरा पनि कति गर्मि हुन थालेको।”

“हाइ, म रमण”

“म अनामिका”

उनको र मेरो पृष्ठभुमि करिब करिब एकै रहेछ, केहि बेर राम्रै कुरा भयो, मेरो ड्युटी जोइन गर्ने बेला भएकोले त्यो दिन केहि काम भएन, म उनि संग बिदा मागेर सिधै काममा पुगे।  

बेलुका को समयमा काम भएकोले हतार हतार गर्दै करिब ५ बजे होटल पुगे, होटेल कै काम ले व्यस्त भएकोले अरु कुरा को वास्ता भएन, रति १ बजे होटल को काम सक्काए पछि कोठा तिर लागे, कोठा पुग्दा लगभग २ बजीसकेको थियो, फेसबुक खोले, सर्चबक्समा लेखे “Anamika”, थुप्रै प्रोफाइल देखे, केहि समय खोजि पछी भेट्टाए “Anamika Thakuri”, उही मुस्कान, उही निस्फिक्री अन्दाज, रिक्वेस्ट पठाऊ कि? सोचे, तर पठाइन, टिकटक खोलेर सर्च गरे आइडी, प्रोफाइल भेट्टाए, उनको भिडियो हेर्दै थिए, काम को थकानले होकी कतिखेर निदाएछु थाहै भएन, दिउसो ब्युझिदा, फेसबुकमा नोटिफिकेसन आएको रहेछ “Anamika Thakuri sent you a friend request” । हतार हतार एक्सेप्ट गरे। त्यसपछि दैनिक जसो हाम्रो गफ हुन थाल्यो र समय मिलाएर भेटघाट पनि हुन थाल्यो।

आज उनको फोटो प्रहरीको टेबलमा देख्दा छक्क परे। उनि धेरै समय देखि हराएकि रहेछिन। उनको कोठामा पुग्दा मेरो फोटो अनि उनको मोबाइल मा मेरो नम्बर रहेछ। मलाई सोधपुछको लागि बोलाएको रहेछन। हामी करिब १ बर्ष कुरा गरे पनि त्यसपछि कुरा नभएको कुरा मैले भने। मलाई समय समय प्रहरीको मा आउने सर्त सहित छोडियो।

प्रहरिमा पुगेर आएपछि म धेरै आत्तिए। खबर सुनेपछि मैले केहि समय काम मा नजाने निर्णय गरे। राति निद्रा नलाग्ने हुन थाल्यो। तर पनि सम्हालिने कोशिश गरे। मलाई पोखरा बाट टाढा जान मन थियो तर प्रहरीले पोखरा छाड्न मनाही गरेको थियो। केहि समय पूर्व इलाम जाने निधो गरे। करिब एक हप्ता पछी फर्किए र काममा जान थाले।

केहि हप्ता पछी प्रहरीको मा आउन फोन आयो। म प्रहरी कार्यालय पुगे, अहिले सम्म कुनै पनि प्रगति नभएको ले मलाई फेरी बोलिएको रहेछ।

“गत बर्षको माघ २५ गते तपाईं कता हुनुहुन्थ्यो?”

“म गाउँ गएको थिएँ”

“यति यकिनले कसरि भन्न सक्नु हुन्छ?”

“किनभने म त्यो रात गाउँमै थिएँ, प्रहरी जाँच गर्न सक्नुहुन्छ।” मैले आत्मविश्वासका साथ जवाफ दिएँ।

“त्यस दिन मेरो गाउँ जानु पक्का छ, सर, किनभने त्यो मिति नै मेरो बुबाको स्मृति दिवस परेको थियो” मैले जोड दिएँ।

“तर, अनामिकाको कोठामा भेटिएको पत्रमा लेखिएको छ— ‘यदि म हराएँ भने, रमणसँग खोज्नु।’”

मेरो निधार चिसो भयो।

इन्स्पेक्टर अगाडि झुकेर, गम्भीर स्वरमा भने, “अब तपाईं भन्न सक्नुहुन्छ, अनामिका कहाँ छिन्?”

मैले पसिना पुसे। म साच्चै अनामिकाको बारेमा केही जान्दिनथिएँ।

मैले हिम्मत गर्दै भनेँ —  
"सर, म... म केही जान्दिन। साँच्चै।"

केहि समय पछी मलाई फेरी प्रहरी कार्यालयमा उपस्थित हुन भनियो।

यो बिषयमा केहि कुरा फेला परेको रहेछ, करिब २ बर्ष अगाडी फेवा तालमा एउटा शव फेला परेको रहेछ, उक्त शव अन्दाजी २२-२४ बर्षकि युवतीको रहेछ।

“मलाई यो सब किन भन्दै हुनुहुन्छ, अनि यो बिषय संग यो २ बर्ष अगाडिको सम्बन्ध के छ?” मलाई अर्को मृत्युको खबर किन सुनाइदैछ, म अलमल्ल थिए।

“यिनको नाम हो अनामिका ठकुरी, र तपाईले देखाउनुभएको अनामिका संग हुलिया मिल्छ।”

इन्स्पेक्टरले यति भनिसक्दा मेरो छाती भारी भयो।  
"के भन्दै हुनुहुन्छ तपाइँ? तर… मैले त उनीसँग कुरा गरेको थिएँ। म्यानपावरमा, फेसबुकमा… हामी सँगै पोखरामा हिँडेका थियौं… तस्बिर छ नि?"

इन्स्पेक्टरले त्यो फोटो हेरे —  
"हो, यो तस्बिर हामीले हेरेका छौँ। तर रमण…"

उहाँले त्यो फाइलबाट अर्को कागज निकालेर देखाए। त्यो सिसिटिभी फुटेज थियो।  
"तपाईले भनिरहनु भएको क्याफेमा खिचिएको यो फोटो… सिसिटिभी फुटेजमा तपाईं मात्र हुनुहुन्छ। तपाईं अगाडि कोही छैन। त्यो कुर्सी र गिलास खाली छ।"

मेरो घाँटी सुकेको थियो।  
"तर… तर त्यो मुस्कान… त्यो स्वर… फेसबुक… टिकटक…"

इन्स्पेक्टरले विस्तारै भने,  
"अनामिका नामकी त्यस्तो प्रोफाइल छैन। हामीले त्यो ID ट्रेस गर्दा… त्यो तपाईंले आफैंले बनाएको फेक प्रोफाइल रहेछ।"

म स्तब्ध।  
"अ… असम्भव…"

इन्स्पेक्टर टेबलमा झुके —  
"शायद तपाईं… तपाईंको मनले बनाएको मान्छे हो। तपाईंले नै कल्पना गर्नुभएको… एक पात्र ।“

मैले वरिपरि हेरेँ — कोठा, कुर्सी, फोटो… सबै धुमिल हुँदै थियो।  
एक्कासि मसँगका ती सम्झनाहरू… गर्मीयामको त्यो म्यानपावर… लेकसाइड… क्याफे…  
सबै दृश्य एक किसिमको धुवाँ जस्तै हराउँदै गए।

"अनि त्यो सन्देश? ‘यदि म हराएँ भने, रमणसँग खोज्नु’?"

इन्स्पेक्टरले गहिरो सास फेरे,  
"त्यो तपाईंले आफैंले लेखेको हुन सक्छ। तपाईं… भूलिरहनु भएको होला।"

त्यसपछि —  
ढोका बज्यो।  
"रमण… रमण…"  
उही स्वर। अनामिकाको।

एउटा २२-२४ बर्षकी युवती उही पहेँलो टिसर्ट र निलो जिन्स।

उसको हातमा रहेको एउटा कागज हावाले उडाउदै मेरो सामु खस्यो, मैले त्यो उठाएर हेरेँ।  
**“म यहीं छु, रमण।”**
